Pages

Monday, November 07, 2011

तिम्रो छायाँ

म उभिँदा दुइओटा छायाँ बने -एउटा बिजुली बत्तीले बनाएको र अर्को आकाशमा उदाएको चन्द्रमाले बनाएको । तर दुबैले बनाएको छायाँमा भने निक्कै अन्तर छ । बत्तीले बनाएको छायाँ अली फिक्का छ भने चन्द्रमाले बनाएको छायाँ गाढा छ । मलाई लाग्यो बत्तीहरु त  मेरा नजिक नै हुन्छन टाढा होओस त प्रभाब घट्दै जान्छ । तर चन्द्रमा जती टाढा नै किन नहोस् त्यसको छायाँको गाढापनमा कत्ती फरक पर्दैन । म तिमीलाई चन्द्रमा भन्न सक्छु र तिनीहरु, जो आजभोली मेरा नजिक छन्, ति बत्तीहरु मात्र हुन् । म चन्द्रमा हेर्छु तिमी सम्झन्छु । ति बत्तीहरु मेरा नजिकै छन्  र पनि मलाई तिनिहरुप्रती कुनै आशक्ती छैन । तिमी टाढा छौ र पनि तिम्रो याद उतीनै गाढा हुँदै गैरहेछ ।
Image source: http://gregfreedman.ca/Moon_Shadow.html 

Monday, October 31, 2011

एउटा हुकुम गर

तिमी आयौ, जान्छौ था'थ्यो, जाँदैनौ कि लाग्यो ।
नजाउ भनें, तिमी गयौ, फेरी किन दु:ख लाग्यो ?
माया गर्थ्यौ, मैले गरें , संसार रमाइलो भो ।
तिमी बोल्थ्यौ, भाव सट्थ्यौ, साथ राम्रो भो ।


दिन थिए, तिमी रुन्थ्यौ, मलाई सम्झाउथ्यौ ।
मैले सुन्थें, आसुँ झर्थ्यो, तिमीले पुछ्ने गर्थ्यौ।
आज सुन्छु, तिमी रोयौ, कसैले तिमीलाई देख्यो ।
साथ दियो , तिमी हाँस्यौ, मलाई बात लाग्यो ।


म भइंन, तिमी रिसायौ, बिछोड सुरु भयो ।
सानो घर थियो, न्यानो थियो, हुरी आइ उढाइ लाग्यो ।
बसमा छु, अरु छैन, तिमीलाई माया गर्छु ।
तिमी कुर्छु , आउनु पर्छ, तिमी सँग माफी माग्छु ।
म स्विकार्छु, तिमीले सम्झायथ्यौ, मैले कतै मानिन ।
आज गर, एउटा हुकुम गर, जीवन भर छोड्ने छैन
बात केही नलागोस्, हे ईश्वर ! गरुँ बरु म के ?
अध्यरै रहन्छ, उज्ज्यालो हुन्न, बरु मरुँ म के ?


रचनाकाल : २०६२ असार ८ गते राती १०: ०८ बजे

Sunday, October 30, 2011

केही कुरा सीपी चौरका


के
ही दिनपछी आगो खरानी बन्ला कि भनेर हप्तादिन वितीञ्जेलसम्म पनि म घोत्लेको घर गइँन  । स्थिती  झन् बिग्रिएको छ र सबै  दोष मै माथि लगाइएको छ भन्ने सुनेर म उसकै अनुरोधमा उसको घर पुगें  । त्यसो त परिस्थितीवश दिनुपर्ने उत्तरहरु, तीनको विश्लेषण, मुल्याङ्कन एवं  आलोचनाहरु शुत्रेसँग सि पि चौरमै भैसकेको हुनाले निर्धक्क म ढोका भित्र पसें ।

मुटुको तेज भित्रैदेखी बढीरहेको अनुभुती भैरहेको थियो । होस गुमाउनु मानवतालाई त्याग्नु सम्झने म सरासर भित्र पसे । आन्टी खाना बनाउन व्यस्थ हुनुहुन्थ्यो भने अंकल नजिकको आटमा बसेर चिया खाइरहनु भएको थियो । म केही बोलिन । ढोकामा उभिएर हेरीरहें ।
- "ओहो ! निक्कै पछी दर्शन पाइयो नि । के छ ?" आन्टीको अपेक्ष्याक्रित प्रश्न म माथि तेर्सियो ।
- "अँ , ठिकै छ । " उहाँको प्रश्नले मलाई उत्तर दिनमात्र नभै टुल तानेर थ्याच्च बस्न समेत साहस प्रदान गर्‍यो ।
- "चिया खान्छौ ?"
- " हैन । भर्खर मात्रै खाएको । "
- " त्यसो भए लौ चुरोट नै खाउ न त , सत्कार त गर्नै पर्‍यो नि हैन र ? " पसलको पैसा राख्ने कन्तुरबाट एक खिल्ली याक चुरोट झिक्दै भन्नु भयो । मैले योजनामुताविक उत्तर दिए - "हो तर मलाई अहिले खान मन छैन । "

सबै गुनासो सुन्छु र आफ्नो पनि बिचार राखेर आउँछु । लौरो, लात्ती , डाढु, पन्युँ  आदिको पर्वाह गर्दिन भन्ने मानसिकता बनाएर गएको मलाई आन्टीको - "के भन्न आयौ भन त , के वाल्ल परेर बस्छौ ?" भन्ने प्रश्नले झन् जटिलतातर्फ धकेल्यो । ङिंच्च दाँत देखाउने अवसर मैले गुमाइँन । धेरै दिन भएको थियो, मैले आफ्नो दाँत ङिंच्च पारेर देखाउन नपाएको । मैले भने -" केही छैन । "

वातावरण एकछिन मौन रह्यो । सडकमा गाडीहरुको आउजाउ भैरहेको थियो । पानी परेर मात्र नत्र अगाडिको बाटोबाट उड्ने धुलोले घर भित्रको मान्छे भुतजस्तो भैसक्थ्यो । घर अगाडिको चिल्ड्रेन पार्कको ढोकामा केटाकेटीहरु चहै चहै गर्दै पिङ खेलीरहेका थिए । प्रेसर कूकरको सिट्ठीले म झस्किए । -"किन टोलाएको ?" आन्टीले सोध्नु भयो ।
-"त्यसै, केही हैन ।" मैले भनें ।
-"तरकारी खान्छौ ?"
-"के को तरकारी ?"
-"केराउको"
-"खाईहालौ न । "
मुखबाट फुत्त सहमतीको वाक्य झर्यो । मैले पहिले बहिरबाटै कहिले थर्कौउदै त कहिले दङग्यौदै भित्र पसेर प्लेट र चम्चा बजाउँदै तरकारी मागेको दृश्य मेरो आँखा अगाडि नाच्न थाले । समान्यमै म गम्भिर बन्न थालिसकेको थिएँ ।

उहाँले बिचमै झ्वाट्टै प्रश्न तेर्स्यौउनु भयो - " नढाँटिकन भन त, के तिमी पनि चुरोट खान्छौ ? " मैले म खाँदिन भन्दिन भनेर सोचिसकेकोले त्यही भनेँ । सबैकुरा सोचेअनुरुप नै भै'रहेको थियो । तर उहाँहरुले सोचेअनुरुप हामी बन्न सकेनौं । मलाई मन पोल्न थाल्यो ।
-" कति भयो ? "
-" भयो ४ - ५ महिना जती । "
-" नयाँ कलेज भर्ना भएदेखी ?"
-" अँ, त्यस्तै भयो । "
-" मैले त भनेकै थिए नि तिमीलाई " आन्टीले अंकलको मुख हेरेर भन्नुभयो -" यिनीहरुले नयाँ क्याम्पस पढ्न थालेपछी खान सुरु गरेका हुन् भनेर त, त्यो क्याम्पस साह्रै खत्तम रहेछ । "
-" पहिलेको क्याम्पसमा त खाँदैनथ्यौ होला नि हैन ?" पुन: एक पटक मलाई हेर्दै भन्नुभयो ।
-" अँ खाँदैनथ्यौ । " मलाई उत्तर दिन सजिलो भयो । "
-"अनी घोत्लेले त सात बर्ष भैसक्यो भन्छ त ?"
-"खै , त्यसले जे पनि भन्छ । अहिले त्यो जे पनि बोल्छ । त्यसलाई नै थाहा छैन होला कि त्यसले के बोल्यो भनेर । "
मैले घोत्लेको सामान्य बर्तमान मनसिक दुर्बलताको हल्का फाईदा उठाउने मौका पाएँ । जे होस् ता पनि उसैको भलाईमा उसैको असद्देताको सहारा लिनुमा मलाई दु:ख लगेन ।
-"त्यसैले त त्यो अस्ती म सँग त्यसै जङ्गीएको रहेछ त । 'के तपाईंले हाम्रो सात बर्षे मित्रता चुरोटको निहुमा छुटाउन खोज्नुभएको' पो भन्छ बा । अरुको छोराछोरी भए मलाई के मतलब तर तिमीहरु मलाई मेरै छोराहरुजस्तो लाग्छ र त सम्झाउछु र परेको बेलामा कुट्छु पनि । तिम्रो बुवाममीले पनि मेरो छोरालाई आफ्नै जस्तो ब्वहार गर्छन् । पाप सोच्न मिल्दैन । मान्छेले मर्नु पनि पर्छ । "

आन्टीले आफ्नो असन्तुष्टी ब्यक्त गर्नुभयो । त्यतिकैमा अंकलले थप्नुभयो -" म पनि तिमीहरुको मित्रताको कदर गर्छु । तर तिमीहरु स्वम ले पनि आफ्नो मित्रताको कदर गर्नुपर्छ । अरुलाई औंला उठाउने मौका दिनुहुन्न । मलाई थाहा थियो त्यसको बोलिमा सत्यता छैन भनेर । जे सोधेपनी सिधा र ठीक जवाफ कहिल्यै दिदैन । त्यसैले बरु तिमी नै एकपटक उसलाई सम्झाइदेउ न । "

आन्टीको यस्तो आग्रहले म अचम्म मात्र परिन, स्वम आफ्नो कानलाई समेत विश्वास गर्न गाह्रो पर्‍यो । आज म झगडा नै गर्नु परे पनि पछी पर्दिन भनेर गएको थिए । यदी अंकल आन्टीले हाम्रो मित्रतालाई तौलियर बोल्नुभएको खण्डमा म ठुलै च्यलेन्ज दिन्छु र त्यही प्रमणित गरेर फर्कन्छु भन्ने अठोट बोकेर गएको म , एकाएक मैन सरह पग्लन पो थाले । मलाई अझै पनि यात्रो विश्वास ? मैले भगवानलाई साधुबाद दिन करै लाग्यो ।

-" अनी तिमीहरु साथी भएर पनि त्यसलाई सम्झाउन सकेनौ त ?" आन्टीले त्यहा मलाई दोहोरो प्रश्न गरीरहनु भएको मैले प्रस्ट बुझे र चलाख भएर उत्तर दिए -"शुत्रे हामीबाट अली टाढा छ, तपाईंहरुलाई थाहै छ, उ एकदम ब्यस्त छ । " मेरो कुरै सकिन नपाउदै आन्टी विचमा मलाई सहमती जनाउदै भन्नुभयो -" विचरालाई खानेमुत्ने समेत फुर्सद छैन । " अनी म फेरी भन्दै गए -" उसलाई घोत्लेले चुरोट खान्छ खाँदैन नै राम्ररी थाहा छैन, अनी म म भै हाले । आँफै खान्छु । उसलाई कुन मुखले सम्झाउनु ?"

" अनी तिमीहरु बिग्रिदैनौ भन्थ्यौ त ?" कटाक्ष्यस्वरुप प्रश्नका बाढीहरु आउन थाले । "किन खायौ? टेन्सन परेर कि ट्राइजेडी परेर ?"
यस्ता सहज प्रश्नका सहज उत्तर दिएर म सहज रुपले पन्छिन चाहन्नथे । मैले घुमाउरो पाराले भन्दै गए -" मान्छेले टेन्सन परेकोले चुरोट खाएको भन्नु बाहना मात्र हो, त्यसमा मलाई अलिकती पनि सत्यता छ जस्तो लाग्दैन ।" फेरी विचमै आन्टीले पुन: सहमती स्वरुप थप्नुभयो -"त्यसो भए त म अहिल्यै एक बट्टा चुरोट खाइदिन्थे, निको हुने भएदेखी त ।" ममा बल थपीदै जान थाल्यो । म भन्दै गए -" ट्राइजेडी हाम्रो सम्भव छैन, किनकी लव नै परेको छैन । "

यसपालीको कुरामा भने उहाहरु एकछिन भएपनी मन खोलेर हास्नुभयो । धेरै दिन भएको थियो, त्यो घरमा हाँसो नछाएको । अन्ध्यारो, चिसो एवम निरासिलो घर एकाएक उज्यालो हुँदैगैरहेको थियो । तर पनि पूर्ण उज्यालो तवमात्र छ, जबसम्म उहाहरुको मनको बादल हटेर जानेछ । ढिलो चाडो तर अवस्य ति दिन आउने छन ।
                       
-"वास्तवमा अहिले हामीलाई के भएको छ, स्वम हामीलाई नै थाहा छैन । वास्तविकताको नजिकमा रहेर भन्दै गए -" हामीलाई अहिले काल आएको हो अरु केही होइन ।"   

अंकलले मेरो भनाइलाई बल पुर्याउदै भन्नुभयो -" घोत्लेको चिना देखाउँदा ज्योतिषले यसलाई ग्रह लागेको छ, जे पनि हुन सक्छ भनेको हुँदा म चुप लागेर बसेको हुँ, नत्र । " अस्पस्ट तर भयानक आक्रोश उहाँको आँखामा झल्किरहेको थियो । त्यहा हाम्रो लहडमा भएको गल्तीलाई अर्कै हिसाबले हेरिएको मैले पाएँ । जे होस् अझै केही बिग्रिएको रहेनछ । म ढुक्क र शान्त हुँदै गएँ ।

"केटीसेटीको चक्करले हो भने भनीहाल, ल्याइहाल्नुपर्‍यो " आन्टीले अझै ठट्टा गर्न छोड्नुभएको थिएन । हल्का हाँसोले मलाई "ल्याउन त हुन्थ्यो तर अर्कैकी परि, आउन नमान्ली कि" भन्न साहस दिलायो ।

अब घरमा हाँसो असामान्य लाग्न थालेन ।

घोत्लेले बाहिरबाट चिहाएको मैले भित्रबाट स्पस्ट देखें । उसलाई म बाट ठुलो आश छ र डर पनि कतै कुरा बिगार्लाकी भनेर । मैले उसलाई जीवनमा पहिलोपल्ट दयाले हेरें ।

शुत्रे र घोत्लेमा म कसैको गल्ती देख्दिन । गल्ती समय र परिस्थितीको हो । शुत्रेले आज पठाएको चिट्ठीमा पनि त्यही भनेको छ । अहिले उ टाढा छ तर छिट्टै आउँदै छ भन्ने मलाई पूर्ण विश्वाश छ ।

म आफु पनि सनकी मान्छे । बिचरी फुच्चूको पनि केही दोष थिएन तर पनि उ सँग त्यसै खनिएँ । मैले यसबारे पछी उ सँग कुरापनी गरें । अहिले कुरा स्पस्ट भैसकेको छ । उ हाम्रो जती नजिक छे र हामी उसको जती नजिक छौ हाम्रो घरपरिवार बाट उ र उसको घरपरिवारबाट हामी त्यती नि टाढा छौ । उ सँग दु:ख पोखेर मन हलुका पार्नुबाहेक तत्काल उसबाट यस मामलामा केही सहयोग पाउन सक्दैनौं । यो हामी सबैलाई राम्ररी थाहा छ ।

कुरालाई सकभर छिट्टै बिट मार्न म आफ्नै कुरा भन्दै गएं -" चुरोट पिउनु हुन्न हामीलाई राम्ररी थाहा छ। यसले कस्तो कस्तो रोगहरु लाग्छ त्यो पनि हामीलाई थाहा छ । र साथीभाइको संगतमा लागेर खाने हाम्रो उमेर पनि गैसक्यो । के राम्रो के नराम्रो छुट्ट्याउन सक्ने पनि भैसक्यौ । " आन्टीले आँखा पिलिक्क झिम्क्याउदै बिचमै हाँस्दै भन्नुभयो -" कुरा त यसले असाध्यै जानेको छ । " मैले आफुलाई रोक्न चाहिन र सायदै सत्त्य कुरा भनें -" तर पनि आन्टी कहिलेकाही यस्तो दिन पनि आउदो रहेछ, सब थाहा हुँदाहुँदै पनि सम्हालिन नसकिने रहेछ । अहिले हामीलाई त्यही भएको हो, अर्थोक केही होइन ।
मैले हाम्रो वास्तविक समस्या जस्ताको तस्तै राखें । अंकल आफ्ना पहिलेका दिनहरु भन्न थाल्नुभयो । म उहाको छेवैमा गएर टुसुक्क बसें । अब चैं बुढाले मर्दैनन् भन्ने विश्वाश पलायर आयो । बुढाले अघीपछी राजनीतिका कुराहरु गर्दा सुन्न बसेंझैं गालामा हात लगाएर म सुन्दै गएं । उहाले भन्दै जानु भयो -" तिमीहरुको उमेर मैले पनि पार गरेरै आएको हो । यो उमेरमा सबैलाई यस्तै पर्छ । मलाई पनि 'ला एक सर्को त हो नि , तान् न तान्, मज्जा आउँछ ' भन्ने धेरै थिए । मैले पनि तिमीहरुको उमेरमा एक दुइ सर्को नतानेको होइन ।" मैले  सुसुक्क हासेर आन्टीको मुखमा हेरें । एक्कासी बुढाले के सम्झेछन् कुन्नी आन्टीतर्फ जंगीगै भन्न भन्न थाल्नुभयो -" यसले त झन् ७ -८ बर्षमै स्कूल पढ्न जाँदा पुलमुनी बसेर चुरोट खान्थी , तिमीहरुले त भर्खर र छ । " हाँसोले एक छिन घर 'जिरे खुर्सानी' हेरेझैं भयो ।

बुढाको हरेक गफमा राजनीति घुसेकै हुन्छ । बुढासँग कुरा गर्न जानु पहिले आधाजसो राजनीति त जानेकै हुनुपर्छ । उहाँले अगाडि भन्दै जानु भयो -" तर हाम्रो त तिमीहरुको समय धेरै फरक छ । तिमीहरु पढेलेखेका छौ, भोली देश तिमीहरुकै काधमा आइपुग्छ । त्यसैले यस्ता झिनामसिना मोजमस्ती र कुलतमा लागेर आफ्नो भविष्य बिगार्नु हुँदैन । "

"शुत्रेले भनेको कुर ठिकै हो, चुरोट खानै नहुने भए त बन्ने नै थ थिएन नि । तिमीहरुले अहिले नखाएपनी पछी खान सक्छौ । त्यसबेला समय परिस्थिती अर्कै बन्न सक्छ । आँफै कमाउन सक्छौ, ब्वहारहरु बुझ्दै जान्छौ । तर अहिले नै छोरा टाइसर्ट लगाएर किताब च्यापेर क्याम्पस पढ्न जान्छ भन्ने आशमा बसेका हामी जस्ता बाबुआमाले अकाबिहानै सडकमा खुलेआम क्याम्पसड्रेसमै चुरोट तान्दै हिँडेको कसरी हेर्न सक्छन् ? मैले त्यतीनै खेर घोत्लेलाई बजाइदिन खोजेको थिएँ तर ठुलो भएको छोरालाई के हात हाल्नु भनेर छोडिदिए ।" उहाँको मन अमिलो भैसकेको थियो । म एकोहोरो सुनी बसें ।

"समाजमा हामीले कमाएको इज्जत छोराछोरीले बुझ्नु पर्छ । भोली समाज उसको हातमा हुँदा परिस्थिती अर्कै बन्ला, त्यो बेग्लै कुरा हो । बाबु,शत्रु खोज्न धेर टाढा जानु पर्दैन , छिमेकमै छन् । भोली आउँला उठाउछन । फलनाको छोरा यस्तो , उस्तो भनी नानाथरी भन्छन । यति सम्मकी भोली छोरालाई केटी खोज्न जाँदा 'यसले त चुरोट खान्छ, के छोरी दिनु' भन्छन् । यस्ता कुरा खै तिमीहरुले बुझेको ? तिमी हरुले आफ्नो कर्तब्य भुल्नु भनेको शत्रु बलियो हुनु हो । छोराले मोजमस्ती गरोस् कसका बाबुआमाले नचाहलान् तर हामी भन्दा ठुलो समाज छ , मुल्य र मन्यताहरु छन् ।"
"यी मोराहरुसँग पनि के आदर्शका कुरा गरेको भन्या तिमीले पनि ? टेढपुच्छर ला'उने हैनन् भोली ।" भान्छाकोठाबाट अंकलको बिचारमा सधैंझै आन्टीको बिरोध यता कोठासम्म आइपुग्यो । " अनी अचेलभरी यो किन दुब्लाउदै ग'को त ? कि गाँजा पनि तान्छ ?" मैले प्रतिप्रश्न गरें -"खै, घोत्ले त अचेल म मोटाउदै ग'को छु भन्छ त ? "

"अनी तिमीहरु बेलुका बेलुका सधैं किन हराउछौ त ? " अब भने जटिल प्रश्न त्यर्सियो ।
"शुत्रेलाई प्राय: दिउसो भेट हुन्न, बेलुका आइपुग्छ। अनी यसो बाहिर तिर घुम्न गइन्छ । त्यत्ती हो । " मैले सतही जवाफ दिएँ ।

अंकल फेरी अगाडि भन्दैजानु भयो -" तिमीहरु विहान मर्निङ वाक गर्न नभ्याउने मान्छे साँझतिर घुम्न निस्कनु राम्रो हुन्छ । साथीभाइ भेट्घाट गर्नु, चिया खानु रमाइलो नै हुन्छ । हामी तिमीहरुको हरेक कृयाकलापलाई सकारात्मकरुपले हेर्छौ । तर हाम्रो विश्वाशको तिमीहरुले अनुचित फाईदा लिनु चाँही भएन । मलाई घोत्लेको अरु कुनै कुरामा गुनासो छैन । खानमा जे भए पनि सन्तोषी छ । काम जे जस्तो भन्यो छी , नाइ नास्ती , केही भन्दैन । घरको काम सब उसैले गर्छ । पढ्न पनि पढेकै छ । मामाघर तिर पनि उ 'राम्रो केटो'ले चिनिन्छ । हामी हाम्रो छोराहरुमा कुनै कमजोरी नहोस् भन्ने चाहन्छौ । तर मलाई एउटै कुरामा चित्त दुखेको छ , र त्यो हो - त्यसले चुरोट खाँदो रहेछ । " 

कुर फेरी चुरोट मै आएर अड्कियो । मलाई आज सम्म चुरोट खाने बानी नराम्रो लाग्दैनथ्यो तर अंकलको अन्तिम भनाइहरु मेरो मनमा नराम्ररी बिझ्न पुग्यो । र यो कथा लेख्न बसें । यस्तो लाग्दैथ्यो - चन्द्रमामा सानो दाग छ, नत्र ।

साँझ ७ बजीसकेको थियो । मैले आन्टी सँग पूजाको लागि अलिकती पारीजातको फूल लियर घर फर्किंएँ । बाटोमा आफु स्वतन्त्र र निडर रुपले अघीपछी भन्दा बेग्लै हिँडाइको अनुभव गर्दै घर पुगें । सधैं बेलुका चुरोट खाएर आउथें, आज नखाइ आएँ । ममीलाई नडराइकन फूल दिएँ किनभने हिजोका दिनहरुमा जसो आज मेरो मुखमा चुरोट गन्हाउने श्वास थिएन ।


Friday, October 21, 2011

शब्दगान


मस्तिष्कको सिमित शब्दकोषबाट केही शब्दलाई छानेर, तौलिएर र क्रमबद्ध गरी शब्दको भौतिक परिभाषा दिएर यसको महत्वलाई घटाउने मेरो अभिप्राय होइन । तर शब्दको सर्बब्यापकता शब्दले नै बताउन सजिलो हुने हुँदा म केही भन्न जादैछु । त्यसो त पकृतिको अनुपम छटामा म शब्द नै शब्द पाउँछु । नदीनाला कलकलाउँदै बगिरहेछन् ; सल्लाका घारीहरु सुस्केरा हालि हल्लिरहेछन् ; पहाडहरु थर्कन्छन्-अडिग देखिन्छन् ; मैदानहरु सुस्ताउँछन्, अनि सागरहरु उर्लन्छन् । जहाँ शब्द बाहेक म अरु केहि पाउँदिन । पकृतिको शब्दमय पकृतिले गर्दा नै मलाई पकृति जीवन्त लाग्छ । शब्दमै म शान्ति पाउँछु ; शब्दमै म विद्रोह देख्छु ; शब्दमै म शितलता पाउँछु अनि शब्दमै म आगो बलेको देख्छु । शब्दमै म मान्छे हाँसेको देख्छु ; रोएको देख्छु र समग्रमा शब्दमै मान्छे बाँचको देख्छु । शब्दमै मान्छे मरेको देख्छु । मृत्युलाई चिन्न मैले मर्नै पर्छ जरुरी छैन । बाँचेर नै म शब्दबाट मृत्यु चिन्न सक्छु ,बुझ्न सक्छु र अनुभव पनि गर्न सक्छु । शब्दमै म देशभक्ति पाउँछु ; शब्दमै म विधुवाको वियोग अनुभव गर्न सक्छु र शब्दमै म कालाकारको सृजना नियाल्न सक्छु । मैले आजसम्म जे जति बुझेको छु् केवल शब्दबाटै पाएको छु ।

तपाईंलाई पनि लागेको होला, कतिपय शब्दमा हामि बानि परीसकेका हुन्छौं र हामीलाई ती हामै अभिन्न अङ्गझै लागेको हुन्छ । हाइस्कुलमा पढ्दाखेरी मलाई सरले भन्नुभएको एउटा कुरा याद आयो । यदि पहिले देखिनै पानिलाई आगो र आगोलाई पानि भन्ने शब्द दिईएको भए हामि अहिले त्यहि भन्थ्यौं होला । तर अब कसैले हामिलाई पानि देखाएर यो आगो हो ,यसले पोल्छ भन्यो भने हामि कदापी मान्न तयार हुँदैनौं । हामिलाई आगो शब्दलेनै एकैपल्ट बल्ने र पोल्ने याद गराईहाल्छ ।

शब्द हुँदैमा त्यसले सम्पुर्णता पदान गर्छनै भन्ने चाहिँ छैन । शब्दको कुनै खास अर्थ, उद्देश्य र प्रयोजन हुनुपर्छ । अर्थविनाको शब्द भनेको प्राणविनाको शरीर सरह हो । जसरी प्राण  नभई शरीरले केहि काम गर्न सक्दैन त्यसरी नै अर्थविना शब्दले पनि केहि गर्न सक्दैन । म अझ यहाँ शब्दलाई ‘शिव’ र अर्थलाई ‘पार्वती’ भन्न उपयुक्त ठान्दछु । जसरी हामि शिव र पार्वतीलाई आदी शक्तिको रुपमा मान्छौं र तिनै शिवपार्वतीबाट यो भौतिक सृष्टि चलेको मान्छौं । त्यसरी नै शब्द र अर्थबाट मनुष्यको मानसिक संरचनाको संचालन भएको छ भन्ने कुरामा हामिले विश्वास गर्न सक्छौं । मानिसको मस्तिष्क, सोच्ने कला र कल्पनाको गहिराई यिनै हामा शब्द र अर्थबाट निर्देशित छन् ।
मान्छेले संसारलाई त्यतिमात्र बुझेको हुन्छ जति शब्द उसलाई त्यसको बारेमा थाहा छ भन्ने कुरामा तपाई पक्कै सहमत हुनुहुन्छ । दुइबर्षे बालकको संसार उसको घर, आमाबाबु, दिदीबहिनी, दाजुभाइ, दालभात, चिचिपापा आदि जस्ता सामान्य शब्दहरुमा केन्द्रित हुन्छ । उसलाई संसार त्यतिमात्र जस्तो लाग्छ । मान्छे जति हुर्कँदै जान्छ त्यतिनै धेरै शब्दको ज्ञान उसलाई हुँदै जान्छ भन्दा मलाई तपाईँहरुले विश्वास गर्ने ठाँउ धेरै हुन जान्छ । जति शब्दको उसलाई ज्ञान हुँदैजान्छ, उसले त्यतिनै जीवन र जगतलाई भिन्न प्रकारले बुझ्दै जान्छ ।  तुलनात्मक रुपमा वयष्क व्यक्तिमा बच्चा र वृद्धको भन्दा बढि शब्दभण्डार हुन्छ भन्दा हामा विद्धान वयष्क साथिहरुले नमान्ने कुरै भएन । अब यो समयमा उसले धेरै सृजना र अनुशन्धान एवं विकास गर्न सक्छ । कैयन शब्द तिनका ज्ञानका कारण उसको सोचाई वृहत र परिष्कृत बन्दै जान्छ ।

वास्तवमा ज्ञान अथाह छ - कहिल्यै सकिँदैन । अथाह ज्ञानलाई एकैपटक अनुभव गर्नु पक्कै सजिलो कुरा होईन । तर हामिले अप्ठ्यारो मान्नु पर्दैन । हामा सामु यस्ता शब्दहरु छन् जसको एकै उच्चारण र पयोगमा सम्पुर्ण ज्ञान, दर्शन, सिद्धान्त, विचार र अनुसन्धान जुन त्यो सँग सम्बन्धित छन् ,सबै हामो वसमा आउन सक्छन् । यसलाई म शब्दको जादु भन्न ज्यादा रुचाउँछु । हामिले प्लेटो, सुकरात र अरस्तुलाई शब्दमै चिनेका छौं । बुद्धको बुद्धत्व शब्दमै पढेका छौं र अलेक्जेण्डरको वीरता शब्दमै सुनेका छौं ।

अब म यहाँ मान्छेले सबैभन्दा बढि विश्वास गरेको तर कहिल्यै पनि नदेखेको ईश्वरको स्वरुपको वारेमा वताउँछु । आजसम्म कसैले पनि भगवान श्रीमहादेवको साक्षात् दर्शन गरेका छैनन् भन्ने कुरामा तपाइँ मेरो पक्षमा उभिनुभयो भने मैले तपाइँको ठुलो सहयोग पाएको ठान्ने छु । तर मेरो दिमागमा महादेव भन्ने वित्तिकै श्रीस्वस्थानिमा वर्णन गरिएअनुसारको भेषमा कैलाशपति सम्भोको चित्र आईहाल्छ । यसको लागि तपाईँ एकपटक आफ्नो प्रिय ईश्वरलाई सम्झिएर हेर्नुस् । शब्दले नै यिनै ईश्वर हुन् भन्ने भौतिक र आध्यात्मिक दृश्य हामो आँखा, मन र मस्तिष्कमा कोरिदिएको हुन्छ भन्ने कुरामा अब तपाइँले विश्वास नगरी सुखै छैन ।

मान्छे तबमात्र पुर्ण मान्छे भएर देखियो जबदेखि उसले शब्दको पयोग गर्न सुरु गर्‍यो भन्नेमा तपाईँले कत्ति पनि शंका गर्ने ठाउँ छैन । यदि यो कुरामा तपाईंले शंका गर्ने अलिकति पनि चेष्टा गर्नुभयो भने माफ गर्नुहोस् म तपाईलाई मान्छेको दर्जा दिन सक्दिन । हिसाबै गर्ने हो भने मानिसले तीनलाख वर्षअघिदेखि भाषाको पयोग सुरु गरेको र पैंतिसहजार वर्ष अघिदेखि लिखित सञ्चार सुरु गरेको इतिहासमा भेटिन्छ । भाषा एवं शब्दको उत्पत्ति, पयोग र विकासकै आधारमा मानिस अन्य प्राणी उपर श्रेष्ठ छ । शब्दमै मानिसका अनुभवहरु साटिएका छन् । इतिहास कोरिएका छन् । शब्दमै नियम कानुनहरु बनेका छन् । तिनै अनुभव, इतिहास, नियम, कानुन एवं मुल्य र मान्यताहरुद्धारा मानव समाज निदृष्ट भएर चलेको छ । त्यसमा नै म पशुको र मानवको राज्य बीच फरक पाउँछु ।यदि यहाँसम्म तपाईले मलाई बुझ्नु भएको छ भने अब मलाई शब्दले नै मान्छे जन्माएको हो भन्न गाह्रो पर्दैन ।

शब्द चेतनाको अमर देन हो । वाणीविना जगत् शुन्य छ, जीवन पङ्गु छ । संसारका प्राय: सारा व्यवहार शब्दव्यापारमा निर्भर छन् । सभ्यता र संकृति यसैमा फुल्दछ - फल्दछ । शब्द केवल विचार विनिमयको माध्यममात्र होईन अपितु विश्वमा जे जति सत्य छ, शिव छ, सुन्दर छ, ति सबैको व्यञ्जक पनि हो ।

शब्दबाट शुद्धता, पवित्रता र उपचार । शब्दको अर्को जादु अब म यहाँ देखाउँछु । हामिसँग यस्ता कति शब्दहरु छन् जसको उच्चारणमात्रबाट पनि हामा सबै पापहरु नष्ट हुन्छन् भन्ने हामिले विश्वास गर्दै आएका छौं । कतिपय शब्दबाट हामि पवित्र हुन्छौं र शान्तिको अनुभव गछौं । हिन्दुधर्म दर्शनको एउटा शब्द ‘ॐ’ ले तपाईलाई यो कुरा बुझ्न धेरै सहयोग गर्न सक्छ । मैले बुझेअनुसार ॐ शब्दको उच्चारणबाट हाम्रो  शरीर भित्र हुने एक किसिमको विकारयुक्त पदार्थ श्वास मार्फत बाहिर निस्कन्छ र यसबाट हामी शारीरिक र मानसिक दुवै रुपमा शुद्ध भएको महशुस गर्न सक्छौं ।

कतिपय कुराहरु त हामी आफैंले पनि अनुभव गर्दै आएका छौं । हामीले डर, चिन्ता वा अन्य कारणले असजिलोपन अनुभव गरेको वेलामा जब हामी कुनै मन्त्रोच्चारण, जप वा केहीको सम्झना गर्छौं तव हामीलाई मन हलुका भएको महशुस हुन्छ । यो एक स्वभाविक प्रक्रिया हो । त्यस्तै हामा कतिपय मन्त्र, यहाँ मन्त्रलाई शब्दशुत्र भन्नु बढि उपयुक्त हुनसक्छ, ले दैवीशक्तिलाई समेत वसमा पारेको र कहिल्यै निको नहुने असाध्य रोगहरुपनि निको भएका घटनाहरु तपाईँले पनि पक्कै सुनेको हुनुपर्छ । यसलाई मैले शब्दको मनोवैज्ञानिक पभावको रुपमा लिएको छु ।

यति भएपछि अब शब्दबाट अनुभव गर्न नसकिने चिज या वस्तुको अस्वित्व यो संसारमै छैन भन्ने निश्कर्षमा तपाईँ पनि पुग्नुभयो होला भन्ने कुरामा मलाई पुर्ण विश्वास छ । यौवनाको वैंश, प्रेमानुभुति, स्वर्गको कल्पना आदिलाई शब्दबाट आनन्द लिन तपाईं हामीलाई बानि परेको छ । प्रेममा सौंदर्यको वर्णन भएन भने त्यसलाई के भन्ने ? तपाईं आफैं विचार गनुहोस् । पक्रृति र पुरुष बीचको रतिक्रियाको दृश्यवर्णनमा म शब्दको खेल नै ज्यादा भएको अनुभव गर्छु । इमान्दारीपुर्वक भन्नुपर्दा मैले आजसम्म संभोग र जीवनलाई एकै पटक अनुभव गरेको छैन, तपाईं हास्नुहुन्छ मलाई थाहा छ, र मेरो नैतिकताले नदिएसम्म म त्यसको आवाश्यकता पनि ठान्दिन । तर मलाई त्यो सँग जोडिएर आउने शब्दलेनै त्यसको अनुभव प्रदान गरिसकेको छ ।

मान्छेले व्यवहार भन्दा पनि शब्दबाट ज्यादा कुराको अनुभव गरेको हुन्छ भन्ने कुरामा त तपाईं पनि आईपुगिसकेको हुनुपर्छ । यो मनुष्यको छोटो र तुच्छ जीवन वास्तविक जीवन् र जगत् बुझ्न एक अंशपनि सक्षम छैन भन्दा तपाईंले पक्कै नाक खुम्च्याउनु हुन्न । अझ त्यसमा पनि मान्छेले शब्दबाट गर्ने अनुभव र सोचाईंलाई त्यो सानो अंशबाट पनि झिकिदिने हो भने अब उसको भौतिक अनुभव सागरको एक थोपा पानिमा गनिन पुग्छ । अब तपाईं सायद डराउनु पनि भयो होला । तर तपाईंले डर मान्नु पर्दैन । तपाईंले निर्धक्कसँग त्यसको जिम्मा ब्दलाई दिन सक्नुहुन्छ । जीवन, जगत् र पकृति जत्तिकै शब्दपनि विशाल र सजीव छ । तपाईंले सेक्सपियरको रोमियो जुजियट देखि लिएर देवकोटाको मुनामदनसम्म लाई शब्दमै भेट्नु भएको छ । यसलाई शब्दको सजीवता भन्न सकिन्छ ।

त्यसैले सुर्यविनाको संसार र शब्दविनाको मानवजीवन म कल्पना समेत गर्न सक्दिन । शब्दमै म संसारको सार भेट्टाउँछु । शब्द मानिसको आदत बनिसकेको छ । दिनहुँजसो हरेक भाषामा हजारौं शब्दहरु घटिरहन्छन् । त्यस्तै हजारौं शब्दहरु थपिईरहन्छन् । निरन्तर बगिरहने नदीझैं म जीवनमा शब्दको प्रवाह देख्छु । यहाँ मैले खुद शब्दको बखान गर्न समेत शब्दकै सहारा लिनु मेरो आवाश्यकता र बाध्यता दुवै रहेको कुरालाई सायद तपाईंले पनि अनुभव गरिरहनुभएको होला । त्यसैले म शब्दको पूजा गर्छु । शब्दको सम्मान गर्छु । शब्दलाई प्रेम गर्छु । म शब्दसँगै जीउँछु र शब्दसँगै मर्छु पनि ।

इदमन्धं तम कृत्स्नं जायेत भुवनत्रयम् ।
यदि शब्दाह्वयं ज्यातिरासंसारं न दीप्यते ।।
(आचार्य दण्डी (काव्यादर्श )
अर्थात, संसारभर शब्दरुपी ज्योति नबलेको भए तीनै भुवन निष्पट्ट अँध्यारो हुँदो हो ।

Tuesday, July 26, 2011

क को कत्रो कमाल



कवाडीमा किलोमा किनेको
किताबको काहानी कत्रो ।

कम्मर कक्र्याइ कक्र्याइ
कपाल कनाइ कनाइ
कापिमा कालो कलमले
काहानी कोरु कस्तो ।

कती किस्सा कुहिसके
कती काम कुच्चीसके
कोप्चो कुनामा कोच्चीएर
कविता कोरुँ कस्तो ।

कतै कल्पनाहरु कराइरहेछन्
कणकणमा कोलाहलले
काउसिएको कमजोर कन्सिरी
कटकट काटीरहेछन

कसैले कहला, किन किनिस्
किन कहु कसरी किनी
कवाडी काइलाले किलोमा किनेको
केटाहरुले किलोमै किने
किन केही कमी कि ?  
-रचनाकाल : बेलुकी ४:४० बजे, फागुन ११ , २०६१ 

Thursday, June 30, 2011

हजार र एक


तिमी हजार बनी आयौ
म एक भई रहें ।
तिमी हजार भइ गयौ
म एकै भइ रहें ।

तिमीले एक भन्या मात्र भए
म हजार गर्ने थिए
तिमी एकमा हजार रहीछ्यौ
म हजारमा एक भएं
तिमी एक बन्न सकिनौ
म हजार हुन सकिन

तिम्रा हजार सपनाहरुमा
मैले एक सपना देखेको थिए
मेरो एक त टुटी गयो
तिम्रा हजार कस्ता रहे ।

तिम्रा हजार दिनहरु एकै भए होलान
मेरा एकै दिन यहाँ हजारहरु भए ।
तिनै हजार दिनहरुमा
म तिमी नै एक खोजीरहेछु ।

Thursday , 02/2005

Friday, January 21, 2011

प्यासी ओछ्यान्


कोठाको एउटा कुनामा
शान्त, शालिन रुपले
मेरो ओछ्यान् लम्पसार परीरहेछ ।  
लाग्छ - उ कसैको पर्खाइमा छ ।  


मेरो अनुपस्थितीमा मेरो ओछ्यान् 
रातभर नसुतेको हुन्छ ।   
र लाग्छ - उ मेरै पर्खाइमा छ ।  


थकित मन लिइ म भित्र छिर्दा 
रातको प्रहरमा प्यासी ओछ्यान् 
अझ राम्री देखिन्छे ।  


एकछिन आँखा डुलाउँछु । 
निर्दोश चेहरा, उदांगो शरीर 
म रोकिन चाहान्न ।  
एउटा मोठो सपना पुरा गर्न 
उनीमाथी समाहित हुन्छु - निर्बस्त्र । 


प्यासी ओछ्यान्  
काखमा राखेर मलाई सपना देखाउँछिन् ।   
स्वर्णिम यात्रा गराउँछिन् ।  
जहाँबाट म ब्युझिएर अर्को एउटा संसार हेर्छु ।  


फेरी उही रात 
उही थकान 
उही प्यासी ओछ्यान् 
अनी उही हाम्रो 
रमाइलो संसार । 


(रचनाकाल : २०६० चैत्र २८ शनिबार बिहान ५:३० बजे )

Thursday, January 13, 2011

यो दशककै सुरुवात ज्यादै तितो भयो
एउटै सपना उनको माया आज रित्तो भयो

फोन उठ्यो केटो बोल्यो मैले तिमी मागें
तिमी आयौ खुशी भएं स्वर मिठो पाएं

फेरी सोधें फोन उठाउने को हो भनी बुझें
अंध्यारो भो चारैतिर म थचक्क बसें

13/01/2011 10:48 am

Monday, January 10, 2011

ठगी सपना

हिजो राती , के देखे सपनी , चांदलाई चुमेको । 
कोमल बदन, गुलबी ओठ, यो मनै गुमेको ।। 


झुकाइ माथ , काखमा उनको, एकै छिन सुस्ताउंदा । 
रोपिए बिझ, इच्छ्याका कैयन, मेरी उनी मुस्कौदा ।। 


साथमा उनको,त्यो दिब्य स्वर्ग, ब्युझदा नर्कै भो । 
दुई चार बात, के गरुं भन्दा, संसार अर्कै भो ।। 


सुकेका आँखा, एकपल्ट भिजे, थामीएनन् केइ गरी । 
उघ्रेका दिन, रहेनन् सधैं, फर्कीए त्यै झरी ।। 


ठग्दछन् कती यी मेरा सपना, मै सोझो देखेर । 
धर्तीकै तुच्छ , मै एक प्राणी, के दियो लेखेर ?         

रचनाकाल : २०६१ साल साउन १४ गते बेलुकी ७:२० बजे