Pages

Saturday, November 07, 2015

पाँचबुँदे सुझाव


शनिबारको दिन फुर्सद मिलेकाले कुनै मुईयासँग डेटिङ नगई र कुनै शराबखाना समेत नगई दिनभर बिरामीझैं ओछ्यानमै पल्टिएर देशको बारेमा बडो गम्भिरतापुर्वक सोचें । स्वदेशी एवं बिदेशी मिडियामा आएका नेपालसम्बन्धी सामग्रीहरुको गहन अध्ययन गर्दा दिनभर आफ्नो पेटमा ठप्प भएको आपुर्ती र निकासका बाबजुत पनि बर्तमान समस्याको निकास स्वरुप देशबासीका नाउमा पाँचबुँदे सुझाव प्रस्ताव पेस गर्न चाहन्छु । 

 पहिलो सुझाव: दिर्घकालिन सोच बनाऔं । 

(१) कुनैपनि राष्ट्रिय ममिलामा जनताको अभिमत बुझ्न, राष्ट्रहितको सवालमा जनमत निर्माण गर्न, अन्तराष्ट्रिय समुदायसँग निरन्तर संवाद गर्न र सरकारलाई सोही अनुसारको सुझाव सिफारिस गर्न एक बिज्ञहरुको समुहगत संरचना अबिलम्ब निर्माण गर्ने । यसमा जनताले विश्वास गरेका, सम्बन्धित बिषयमा विज्ञता हाँसिल गरेका, बिदेशी भाषामा दक्खल राख्ने लगायत अन्य आवश्यक प्राबधानहरु पुरा गरेकाहरु रहुन् र यो बरु अतीगोप्य नै रहोस् । यसले राष्ट्रको 'थिन्कट्यांक' को रुपमा काम गरोस् । 

यो समुहमा स्वयं मलाई नै सरकारले आमन्त्रण गर्दछ भने पनि म नाइँ भन्दिन । 'अनी तेरो विज्ञता के ?' सोध्नुहोला । म फुर्सदको समय दिनभर केही नखाई, कतै नगई, ओछ्यानमा लम्पसार परेर बिताउन सक्छु । वास्तवमा यो कला अहिले देशबासी र झन् तराइबासीलाई सिकाउन निक्कै आवश्यक छ । यसले आन्दोलन र बन्दहड्तालमा जनसहभागिता कम मात्र गर्दैन, सुन्यमै झार्न बेर लगाउदैन । यो गोप्य यसकारण रहनु पर्छ कि म सुतुवा भन्ने जगले थाहा पायो भने घरमा चोर् पल्किने मात्र हैन बिहेका लागि कसैले छोरी नपत्त्याउन पनि सक्छन ।

दोस्रो सुझाव: फगत काक्-तालीमा मक्ख नपर्नुस् ।       

(२) तुरुन्तै राष्ट्रपतीबाट जनताको नाममा सम्बोधन आओस् । यसले बिशेषत: तराइबासीलाई उनिहरुको अधिकार संबिधानमा सुनिश्चित हुने विश्वास दिदै सरकारसँग वार्ता गर्न प्रेरित गरोस ।

देशको राष्ट्रपति कति गरिमामय पद हो सबैलाई थाहै छ र त्यो पद पाउन कस्तो बिशेषज्ञता चाहिन्छ त्यो झन् भन्नै परेन ।  हामी नेपालीलाई 'पहिलो' भन्ने चिज बढो प्यारो छ, हेर्नुस् । उसै त पहिलो महिला राष्ट्रपति , त्यसमाथि पहिलो महिला राष्ट्रपतिको पहिलो  सम्बोधन । सक्किगो नि । 

'मलाई हेर् - तलाई हेर् - बेला हेर्' भन्ने आशयको यस्तो सम्बोधनमा भण्डारीले भन्दिन सक्छिन कि " म महिला, म बिधुवा, म असहाय, म निरिह, म रुन्चे, म अल्छि, अर्काको आड्मा यत्रो बर्ष राजनीतिमा लाग्ने, संस निर्वाचनमा धोब्बी हार्ने र रक्षामन्त्री हुँदा समेत आफ्नै बुढाहत्याको छानबिन गराउन नसक्ने त फ्याट्ट चिट्ठा लागेसरी राष्ट्रपती भएँ भने तपाईंहरु त झन् बिहारकै भए पनि देशमा यत्रो भुईंचालोले भन्दा बढी जनजीवन र अर्थतन्त्र सखाप पार्नेहरु कसो राज्यको माथिल्लो ओहदामा नपुग्नु होला र ? ”  यति सुन्ने वित्तिकै जनता तरर्र ताली पिट्न थालिहाल्छन । समस्या फु-मन्तर । 

ओलीजीले पनि आफ्नो भाषणमा सुधार र समाबेसिपन ल्याउनुपर्ने देखिन्छ । बेतुके गैंडापुराण भट्याउनुको सट्टा गौंडापुराण ( गौंडा अर्थात नाका) जनतालाई बुझाउन सके राम्रो हुन्थ्यो । त्यस्तै झर्रा पहाडे उखानटुक्का मात्र प्रयोग नगरी मिठासपूर्ण मैथली, थारु र खासगरी उर्दु तथा हिन्दी भाषामा टुक्का हालेर भाषण गरुन त । समस्या तु सुल्झिन्छ । माओवादीलाई ओलिले त्यसैगरी उखानटुक्काले हानी हानी ठेगान लगाएको जनताले कहाँ बिर्सेका छन् र । यसका लागि उदाहरणार्थ पाठकहरुले केही उखानहरु तलको  कमेन्ट बक्समा उल्लेख गर्न सक्नेछन । 

तेस्रो सुझाव: मान्छे चिन्नुस्, खसी किन्नुस् । 

(३) पुन:निर्माण एवं एकीकृत शहरी बिकास, उर्जा, सडक र खानेपानी तथा सिँचाइ क्षेत्रमा सरकारले बिशेष कार्यक्रम ल्याओस । यि योजनाहरुमा जनताको स्वामित्व स्थापित गर्न, स्थानिय जनता, आम जनता र गैरआवासिय नेपालीहरुलाई प्राथमिकताका साथ सरकारी ॠणपत्र  बिक्री गरियोस ।

बाबुरामजीलाई निर्माण प्राधिकरणको नाईके बनाइयोस् र गोकर्ण लाई उर्जाको । खानेपानी आफ्नै दिदीको नाउमा हिसिला हेरिहल्छिन, कृषि र सिँचाइमा हरिप्रसाद हरिपै छन्  । सक्किगो नि । 'अनी पैसो नि?' भन्नुहोला । त्यसको नि उपाय छ ।

स्थानीय कुन्डले मुन्डलेहरुले ढले खोल्साखोल्सीका बालुवा र जग्गा प्लटिङबाट आर्जित भु-मनी (जमिन बेचेको पैसा) अझ ठुला आयोजनाहरुमा बिधिबत् खन्याउन पाउने छन । ढलको बालुवा बेच्दा सांसद बन्नेहरु अब भने सिधै उप-प्रधानमन्त्रीनै ताक्ने छन् । स्थानियले राज्यमा खोजेको अधिकार स्थापित हुने नै यसरी हो । हेरेको हेरै त आम जनता नै हुने हुन् । त्यसमा पनि कालान्तरमा बिचरा बाहुन छेत्रीहरु बन्ने छन् जो न राज्यको समावेसि कोटामा पर्छन, न त छात्रवृत्तिमै ।

अर्थसंकलनका अर्का स्वनामी एनआरएनहरु हातमा पैसाको मुठ्ठो लिएर त बसेका छन् तर के गर्ने थाहा छैन । जती बिदेश बसे पनि, नागरिकता उतैको लिएपनी बिदेशमा गरेको फुर्ती कसैले देख्ने हैनन् ।  बरु नेपालमै लगानी गर्न पाए सस्तो श्रमलाई प्रयोग गर्न सक्थे; कर छल्न सजिलै सक्थे; उ बेलामा हेप्ने ति छिमेकीहरुलाई ध्वाँस दिन सक्थे; कसैगरी दोहोरो नागरिकता पाइहाले भने बिस्तारै दलहरुलाई आर्थिक सहयोग गरेर वा चुनाव जितेर मन्त्री पड्काउन सक्थे । देश लुट्नु लुट्यो अनी केही अप्ठ्यारो पर्नासाथ बिदेश पुन: भाग्यो । कस्ले रोक्ने ?

 चौथो तर सिरियस सुझाव । पढ्नुस्, अनी मनन् गर्नुस् ।

(४) मधेसकेन्द्रित दलहरुको मागमा अत्यन्तै लचक्ताका साथ सरकार बार्तामा बसोस् र अधिकतम मागहरु राष्ट्रहितलाई केन्द्रमा राखेर पुरा गरोस । अक्सर मागहरुमा तराई निकट भबिश्यमै भारतमा गाभिनसक्ने संकेत देखिन्छन । भलै त्यसो नहोला । तर यसले नेपालको सर्बभौमिकता सदाको लागि दिल्लीलाई सुम्पने छ र राष्ट्रिय एकतामा सदैब प्रहार निम्त्याउने छ ।

अब त भारतको नेपाल दृष्‍टिकोण यति खुलिसक्यो कि टोलको एउटा सिँगाने फुच्चेले नि भन्न सक्ने भो कि भारतले नेपालको पानीमा आँखा गाडेको छ । दुइपल्टे मोदियात्रामा भारतले नेपालको अधिकांश नदिनालाहरुलाई बिध्युत बिकासको नाउमा हडप्न नेपाली नेताहरुलाई र जनतालाई समेत खुबै तेल घस्यो । भाषणले सबैलाई मक्खै पार्‍यो । कसो कसो नेपाली उर्जा एवं जलस्रोत बिज्ञहरुले अध्ययनको लागि समय मागे र भारतको इच्छ्याअनुरुप एकमुस्ट सम्झौता नगर्न ठुलै दवाव दिए । मोदी खाली हात फर्के । तिनले मनमा ठुलै इख लिएर गएका रहेछन । 

हिजो दिनभरको मेरो अध्ययनबाट बुझेको कुरा अब म स्वासै नफेरी एकै वाक्यमा भन्छु । बिहारीहरु, जो जन्मैले भारतसँग झुकाव राख्दछन्, लाई मधेसी अधिकारको नाउमा नागरिकता दिलाउने, निर्वाचन क्षेत्र निर्धारण मार्फत नेपालको संसदमा तिनको अधिकतम प्रतिनिधित्व सुनिश्चित गराएर नेपाललाई अघोषित उपनिवेश बनाउने, तराईका राज्यसरकारलाई प्रभावमा पारेर थप बाँधहरुको निर्माण, बनाईएका बाँधहरुमा निरन्तरको नविकरण र खोलानालामा अधिपत्य कायम गर्ने, समयअनुसार नेपालका फरक फरक शक्तिहरुलाई उचालेर निरन्तर राजनीतिक, समाजिक र आर्थिक अस्थिरता कायमै राख्ने र सोही अनुसार सुरक्षा चासोको कारण देखाएर नेपालमा आफ्नो सेनाप्रहरीको गस्ती तथा ब्यारेक निर्माण सँगै भारतले अन्तत: खोजेको भनेको चिनसँगको पौठजोरी हो ।

 पाँचौ तर अकाट्य सुझाव । पढ्नुस्, अनी पालना गर्नुस् ।   

(५) त्यसैले ओलीबाणीमा मात्र मक्ख नपरी आफ्नो दैनिकीमै राष्ट्रबादीपन अवलम्बन गर्दै जाऔं । म यहाँ धेरै बोल्दिन, किनकि यो बोल्ने हैन गर्दैजाने कुरा हो।  यहाँ दिपक शर्माको नोभेम्वर ५ को फेसबूक स्ट्याटस बढी नै सान्दर्भिक देखिन्छ । उनि लेख्छन्  " ५ किमी नहिड्ने "राष्ट्रवादी"हरू ५ दिनदेखि तेलको लाइनमा छन्, "अराष्ट्रवादी"हरू भने साइकलमै ५० किलो तरकारी-फलफुल बोकेर ५० किमी हिडिरहेका छन्। "



Monday, May 26, 2014

मोदी,चायवाला र कुमार दल

हाम्रा 'वरीष्ठ कुमार' लाई आएको निम्तो , मैले कुरो डाइरेक्ट शुरु गरें है ,यस कारण महत्वपूर्ण छ कि राष्ट्रिय स्वयम सेवक संघकै सकृयतामा आफ्नो उदयका कारण पनि मोदी दक्षिण एसिया स्तरीय अन्तराष्ट्रिय कुमार दल गठन गर्न चाहन्छन । उनी भन्छन "गुजरातमा कुमारहरुको संख्या काहाली लाग्दो स्थितिमा छ र सन् २०२०  सम्म दक्षिण एसियामा यो सबभन्दा ठुलो भोट बैंक बन्ने छ ।"

यति ठूलो राजनीतिक सम्भावना बोकेका कुमारहरु कुनै कार्यशाला, अध्ययन केन्द्र वा रसरंगमा भन्दा बढि चिया पसलमा भेटिन्छन र चिया पसल भनेको त हाम्रो फेरी देश बिकासको लागि चाइनाको 'थिन्क ट्यान्क'सरह नै हो । तिनका भावनाहरु 'चायवाला' ले भन्दा बढि कसले पो सुन्या हुन्छ र । बिश्लेषकहरुले मोदीको यस निम्तोलाई नेपाल-भारत-चिन सम्बन्ध मात्र नभै  विश्व शक्ति सन्तुलनको कडीका रुपमा समेत हेरिहरेका छन ।

यसको लागि तयारी पुगिसकेको छैन र प्रशस्त छलफल हुनुपर्छ भन्ने तपाईंलाई लाग्न सक्ला । यसमा हाम्रा मिश्र दाईलगायतले चलाईहरेको 'नयाँं शक्ति'  ठ्याक्कै मिल्दैन ! मिल्दो हो त बाबुराम ठन्डाराम हुने थिएनन । उनका भित्रियाहरु बाबुरामले सम्बन्ध बिच्छेद गरेरै भएपनी त्यसको नेत्रित्व लिन खोज्दा हिसिलाको हसिलो मुहारले कुरा बिग्रेको बताउछन ।

यसका लागि मानव सभ्यताको बिकाससँगै यथेष्ट प्रयास र षड्यन्त्र एकसाथ हुँदै आएका छन् । इसाइहरु इभाले आदमलाई खुवाएको फल सुरुवात ताकाकै षड्यन्त्रका रुपमा लिन्छन भने बुद्धमार्गीहरु बुद्धले 'कमब्याक' हुन खोजेको तर नसकेको ठान्छन । बरु हिन्दूत्वमा भने महाभारतका भिस्म र रामायणका हनुमानले सिद्दान्तत: जीवन बिताएको तर संगठन निर्माणतर्फ सिन्को पनि नभाचेको आरोप कट्टर हिन्दूबादी समेत रहेका मोदी स्विकार गर्दछन र अगाडि थप्छन "बाजपेयीजीबाट मलाई निकै आशा थियो तर उहाले पनि सक्नु भएन । "

यो अभियानको सुरुवात नेपालबाटै किन त भन्ने प्रश्नमा मोदी भन्छन, " अहिले नेपाल कुमारहरुको नियन्त्रणमा छ । हेर्नुहोस् त , प्रधानमन्त्री कुमार, प्रधानन्यायधिश कुमार , महानायक कुमार ( त्यसबेला सम्म), दोस्रो ठुलो दलका नेता नामैले कुमार । तेस्रो ठुलो दलका नेता नयाँ शक्तिको खोजिमा । चौथो ठुलो दलका नेता जसरी नि हिन्दूत्वको पक्षमा । पांचौ, छैटौ ... त झन सधैं हाम्रै पक्षमा । यस्तो अवस्थामा काम गर्न धेरै सजिलो हुन्छ । "

- "नाउँ चै ?"
- "राष्ट्रिय कुमार दल नेपाल । "
-"भारतमा ?"
-"प्रयोगशाला पढ्नु भो ?
म बोलिन ।

अनी पार्टीको लागि त सिद्दान्त पनि त चहियो भन्ने तपाईंलाई लाग्ला । हाम्रा कुमारको यो भ्रमण त्यही सिद्दान्त को खोजीका लागी हो जुन मोदीले यसअघी नै तय गरिसकेका रहेछन - कुमारको एकदलीय चियाबाद ! यो त 'जबज' सँग नाम मिल्छ त भन्ने पनि लाग्ला । तर त्यसो हैन । जबज कुनै सिद्दान्तले काम नगरे पछी वा गर्न नचाहे पछी जबर्जस्ती थोपरिएको ढोंङ हो भने कुएची बिशुद्द दक्षिण एसियाली युबाहरुको धार हो जसले पाश्चात्य तरुनिहरुको र समग्रमा तिनीहरुलाई बिभिन्न नाममा स्पोन्सर गर्ने पुँजीपतिहरुको दब्दबालाई निस्तेज पार्ने एक्काइसौं सताब्दीको उन्नत बिचार हो । यस अर्थमा यो फेरी पनि बर्ग संघर्शमै आधारित सिद्दान्त भन्दा हुन्छ ।

"अनी प्रम कोइराला सँगै जाने भनिएका 'प्रदिप चायवाला' नि ? "

"ए, त्यो ? त्यो त दुई साथीभाई बिचको मजाक नि " मोदी मुस्काए ।

     







  

Tuesday, October 16, 2012

दशैंको मासुप्रती हाम्रा नेताहरुको धारणा

फोरमका नेताहरु : मधेसका खसिबोका मधेसमै खपत हुनुपर्छ । पहाडीयालाई दिनु हुन्न । बरु भारत पठाइन्छ र गोला बारुद ल्याइन्छ । 

दमल पापा : एकै ठाउमा भेला भ'र फोकटमै झ्याम्म मासुभात खान पाईन्छ भनेर दलहरु संबिधानसभाको पुनर्स्थापनामा लाग्या हुन् । 

झुसिल पोइ र ला र ? : खसी , बोका, कुखुरा, हाँस जसलाई जे खान मन छ खानुहोस् । के गर्नु आफ्ना त दात छैनन , उदण्डजी ले खा'को हेरिन्छ बसिन्छ । 

उदण्ड : के कुरा गर्या झुसिलजी , मलाई छेर्पट्टी लाग्दैन ? बरु तपाईं केरा खानुहोस् । यसपल्ट चाँही तपाईंलाई दुई दर्जन केरा पक्का ! 

साधुराम रट्टभाइ : चेपाङ बस्तिमा धेरै खसी बोकाहरु कराको मैले सुन्या छु । यस्पल्ट तीनले पहिलो प्राथमिकता पाउनु पर्छ र नपुग भारतबाट ल्याउनु पर्छ- 'विप्पा' के हो त नत्र ? चिनका च्याङ्ग्रा त अबैध्यका बादरहरुले बुत्त्यैहाल्छन नि । 

अबैद्ध्य : दशैंमा मासु खानु सामन्ती सोच हो । बरु फर्सी खाओ , काक्रा, घिरौला र कुभिन्डो खाओ । मलाई सब भेजिटेरिअनको साथ छ । अस्टमीकै दिन हामी आन्दोलन गर्दै छौं । 

टोपी गोली : गुरिल्लाहरुले खसी बोका के बाँकी राख्लान र भनेर मैले त बस्नेतजीहरुलाई भनेर राङा भैंसीको व्यबस्था गरिसक्या छु । बाल मतलव ! 

हाकुने : मान्छे अनुसारको भोजन गर्नु भन्छन्; आफु त झ्याप्प खरायोको मासु खाइन्छ । यत्रै सित्ती । 

(भिडभाडमै उदण्डपुत्रले जिब्रो चिप्ल्याइहाले )

उदण्डपुत्र : आफुलाई त आजभोलि आर्काको श्वास्नीकै गन्ध मन पर्छ । बोका- कुखुरा ठुस्स गन्हाउछन् । :P

Friday, July 20, 2012

गूड्बाइ दीपकराम


असार २६ गते राती मित्र बिनोद श्रेष्ठले एउटा फोटो 'ट्याग' गरे जसमा हाम्रा स्कुले साथी दीपकराम खड्काको असार १४ मा भएको असामयिक निधनप्रती श्रद्दान्जली र परिवारजनमा समबेदना लेखिएको थियो । म स्तब्ध भएँ । आफु काममा भएकोले तत्काल कुनै संपर्क गर्न सकिन । त्यसको केही दिन पछी उसको मृत्‍युको कारण बारे थाहा पाएँ । आफ्नो साथी गुमाउनु परेको यो नै मेरो पहिलो घटना थियो ।


Image source:
https://www.facebook.com/deepakram.khadka
हुन त अहिलेको समयमा अक्सर सकल साथीहरुका विवाह, सन्तानलाभ, बिदेश यात्रा, पदोन्नती, दिक्षान्त, एवं प्रगतीजस्ता गतिबिधी सुनिन्छन, तर फरक र दु:खद् यो घटनाले मलाई जीवनको एउटा तितो यथार्थ पाटोको पनि बोध गरायो । पटक पटक मृत्‍युको मुखबाट जोगिएको म स्वमं पनि बाँचेपछि फेरी गहीरिएर मृत्‍युको बिषयमा सोच्ने साहस कहिले भएन । यसर्थ, मित्र दीपकरामको मृत्‍युको घटना मेरा लागि जीबन चियाउने एउटा ऐना बन्न पुगेको छ । गूड्बाइ दीपकराम , हामी सदैब सम्झिरहने छौं । 

झन्डै १५ बर्ष अघी हामी सँगै कक्ष। सातमा पढ्थ्यौ । स्कुलको हाल्फछुट्टीमा हामी चौरमा भेटिन्थ्यौ । अर्का मित्र खुमलाल आले, दीपकराम र म प्राय: सँगै हुन्थ्यौं । पढाईका अलावा हामीमा पछी के बन्ने भन्ने बिषयमा हाम्रो एकमत थियो - आर्मी बन्ने । हामी मध्य खुमलाल अहिले नेपाली सेनामा छ । सुडोल छ फिटे शरीर, ५-७ जनालाई एक्लैले भ्याउने ज्यान र अत्यन्तै कोमल हृदय भएको दीपकरामको यस किसिमको अन्त्य सायदै कसैले सहला ।

दीपकरामले मिठो गीत पनि गाउथ्यो । मेरो दाई आँफैले लेखेको भन्दै हामीलाई प्राय: यो गीत लय हालेर पुरै गाएर सुनाउथ्यो -" मायालुले, हो हो हो ,मायालुले के गर्‍यो यस्तो, जिउदै मर्नु पार्दियो कस्तो, दुई दिन जीवनमा " । गीतको लय चाँही ठ्याक्कै  पुरानो हिन्दी गीत "पायलीया, हो हो हो " को थियो । उसले गाउँने यो पुरानो गीत मलाई अझै पुरै कण्ठस्थ छ ।

स्कुल सकिएपछी हामी तिनै जनाको भेट एकाध पटक भयो होला । समय पनि धेरै बितिसक्यो । यो क्रममा साथीहरु धेरै बने, धेरै छुटे पनि । तर थोरै कम साथीले मात्र जीवनमा अमिट छाप छोड्छन । गूड्बाइ दीपकराम, हामी सदैब सम्झिरहने छौं ।

Tuesday, June 05, 2012

म, फेसबूके 'नेपाली'हरु र राष्ट्रबाद


नेपालमा घर भएका (उनी 'नेपाली' हुन् भन्ने एकमात्र बलियो आधार हो यो जस्तो लाग्छ) र हालसालै 'नेपाली' थर राखेका एक मित्रले फेसबूकको म्यासेज इन्बक्समा लेखे, "स्ट्याटसहरु त दह्रो जान्छन देशभक्तिका तर नाम चाँही किन बिदेशी झै लाग्ने राखेको? " उनले अरु पनि धेरै लेखेका थिए । सन्दर्भसगै म यहाँ सबैजसो उल्लेख गर्दै जानेछु । 

खजान्ची अनिल शाहले फेसबूकमा नामका पछाडि 'नेपाली' लेख्न सुरु गरेको भनेर केही अखबारहरुले उनको अन्तर्वाता समेत छापे । तर मेरै एक मित्रले 'म नेपाली' नाम राखेको मलाई लाग्छ तीन चार बर्ष भयो । अन्य कतिले कती बर्ष देखी यसो गरे यसै भन्न सकिन्न तर अखबारहरुले केही घरानिया र चर्चित अनुहारहरुलाई 'राष्ट्रबादी'को अग्रपंतीमा उभ्याउने काम गरे र अझै गर्दै छन पनि । तथापी तिनीहरुको 'राष्ट्रभक्ती' मापन गर्ने कुनै यन्त्र भने ति अखबारवालाहरुसँग पनि छैन ।

फेसबूके 'राष्ट्रबादी'हरु देशको वास्तबिक समस्याको पहिचान र त्यसको समाधान के हुन सक्छ भन्नेमा बिल्कुल ख्यालै नदिइ (यदी त्यसो हुदो हो त यस बिषयमा केही त पक्कै लेख्थे होला नि) एकोहोरो 'अखण्ड' 'नेपाली' शब्दको अलाप मात्र गरिरहे । संघियताको बिरोधी, 'अखण्ड' पुकारक एवं नाम्पुछ्रे 'नेपाली' मेरा ति मित्रलाई मेरो फेसबूक नाम बिदेशी प्रतित हुँदैमा म 'अराष्ट्रबादी' हुन्न भन्ने बताउन म यहाँ केही लेख्दै छु ।

लिम्बुको छोरोले (तपाईं यहाँ तक्मे बुढोको 'डायलग' सम्झेर एकैछिन हाँस्नुभयो भने पनि म 'माइण्ड' गर्दैन) एउटा राज्य पाउनुमा म ठाडै अस्विकार गर्दिन । हुर्केको छोरो घरमा छुट्टै कोठा चाहन्छ भने त्यो घर बिद्रोह कदापी हुन सक्दैन । बरु त्यसमाथी उल्टो सुल्टो कुरा झिकेर बखेडा झिक्दा झन स्थिती नराम्रो हुन सक्छ - प्रमाणहरु हामी सामु देखिदै छन । घर छेवै हर साँझ बिहान तरकारी डुलाउने हाम्रा मधेसीहरुलाई हामीले कती सतायौ त्यो पनि हेक्का राख्नु पर्छ । त्यसैले सताब्दीयौ देखी राष्ट्रको बिषम हावापानी, भुगोल, र अभाबहरुमाझ रहेर पनि जमिनको रक्षा गरिरहेका हाम्रा शेर्पाहरु, मधेसीहरु, र जातजातिहरुलाई हामीले चिन्नुपर्दछ । हाम्रो उदेश्य एकजुट हुनु हो, तर एउटै कोठामा सधैं लडाईं गरेर हिनताबोधमा सँगै बस्नु भने होइन । अधिकार र क्षेत्रको बाडफाडले क्षमता बढाउन सक्छ तर कुण्ठा र बैमनश्यताले बित्रिष्णा बाहेक केही दिदैन । सबैको भलो हुने जादुको छडी अबको संसारमा सम्भव छैन तर पनि अधिकतम जनताको भलो हुने अहिलेको अपरिहार्य आवाश्यकता बनिसकेको 'संघियता' प्रती सजग हुनु राम्रो कुरा हो तर संकामात्र गर्नु किमार्थ राम्रो होइन ।

हुन त आजभोली 'राष्ट्रबाद' पनि 'राजा महिन्द्रे'को र कुन्नी कस्को भन्ने तरिकाले व्याख्या गरिन्छ । यसै मेसोमा 'निशेदको राष्ट्रबाद' पनि पढिहाल्नुस् । कही कतै कसैसँग तर्क-कुतर्क गर्न सायद काम लाग्न सक्छ ।

देशभक्ती कुनै अमुर्त चिन्तन मात्र होइन । यो त देशको भुगोल, सम्पदा, कला संस्क्रिती, जातजाती, धर्म, भाषा आदीको सम्मान हो र त्यसको अबिछिन्न स्वीकार पनि हो । सायद राजा महेन्द्रले पनि त्यसै भन्न खोजेका थिए होलान् । मौका पाए टाउकैले टेकेर भए पनि बिदेश सुइकिन तैयार मित्रहरु आफु देशको मायाले स्वदेशमै भएको तर्कले मात्र केबल आफुलाई सच्चा राष्ट्रबादी अर्थ्याउन खोज्दछन भने त मेरो भन्नु केही छैन ।

फेसबूक 'स्ट्याटस'हरुमा देशभक्तीका गफ छाट्दैमा कोही सच्चा देशभक्त हुँदैनन भन्ने ति मित्रको तर्क केही हदसम्म बलियो पनि लाग्यो मलाई । तर मैले लेखेका कुनै भावका पङ्तीहरुबाट कसैले कम्तिमा एउटै मात्र पनि नेपाली शब्द सिक्छ भने म सम्झन्छु म मेरो भाषाको रक्षा गरिरहेको छु । मैले 'सेयर' गरेको कुनै नेपाली गीतको 'भिडियो' वा चलचित्रको प्रसँगले कम्तिमा पनि बजारमा कुन नेपाली गीत वा चलचित्र आउँदै छ भन्ने कसैले थाहा पाउछ भने म सम्झन्छु म देशको कला र संस्क्रितीको प्रबर्दन गरिरहेछु । त्यस्तै, मैले 'सेयर' गरेका समाचारका प्रसँगहरुले कसैलाई देशको गतिबिधि अध्याबधिक गराउछ भने म सम्झन्छु म देशको खबर बताउदै छु । अनी अर्को कुरा, देशको सिमाना, भुगोल एवं प्राकृतिक सम्पदाको रक्षार्थ खटिन मैले गरेको पटक पटकको प्रयास दुर्भाग्यबश असफल भएकै हो तथापी मैले सकेको र जानेको कामबाट देशको सेवा गरीनै रहने छु । तर यी कुराहरु मेरा मित्रले बुझेनन् वा बुझ्न चाहेनन् यसै भन्न सक्दिन । फेसबूकमा बिदेशी भाषा र संस्क्रितीका गीत संगीतमात्र धेरै 'सेयर' गर्ने र 'स्ट्याटस' समेत मुस्किलले नेपालीमै लेख्न खोजेपनी स्वरुप तोडमोड गरेर, नेपाङ्ग्रेजी पारामा वा रोमनमा लेख्ने मेरा ति मित्र भन्दा म निक्कै बढी, फेसबूके नै सही, राष्ट्रबादी छु भन्नेमा म बिश्वस्त छु ।      
       

   

Saturday, May 26, 2012

हामीलाई 'एक्का' चाहिएको छ

'बाद शाह' थुतेर फ्याकियो, सँगै 'मिस्सी' पनि गइ, 'गुलाम'हरुले राज गरे यो 'दुवा' देखी 'दहर'हरुको शहरमा । हिसाबैले भन्छ, अब हामीलाई 'एक्का' चाहिएको छ ।

Thursday, May 03, 2012

म, तुम् र पुलीस


Hindu devotees gather to bathe in the River Ganges, holy to 
Hindus, during the Kumbh Mela festival in Haridwar on
 Sunday. Photo: PTI
सबेरै वाराणसी (बनारस) बाट निस्कदा सडकको छेउछाउमा शौच गर्नेहरुको लामै लर्को देखिन्थ्यो । पूर्ण प्राकृत शौच मलाई पनि कम आनन्दको लाग्दैन । द्रिश्यमा अरु पनि धेरै थिए । समथर फाँटहरुमा केराका बुट्ट्यानहरु, आँपमा झाडीहरु, तोरीका बालीहरु र दालका खेती आँखाले नभ्याइन्जेल थिए । काठमाडौं छोडेको केही दिनहरुमै मलाई हरिया पहाडहरु 'मिस' भैरहेका थिए । जाँदा दाउन्ने कटेपछी र फर्कदा उही दाउन्ने नभेटिन्जेल मैले पहाडको त के कुरा र उकालो बाटो समेत कतै देखिन । 

कुरा सन् २००७ तिरको हो । हामी कुम्भमेला हेर्न भनी भारतको उत्तर प्रदेशको अलाहबादस्थित प्रयागनगर जादै थियौ । हामी गोरखपुरदेखी चढेको सेतो 'महेन्द्र बूलेरो'को अगाडी साइकल चित्रित झण्डा थियो । त्यसको अर्थ त्यही ड्राइभर जानोस तर भन्दै थियो," आपलोग निस्चिन्त रहो, आगेका झण्डा आपलोगका यात्रा आसान करेगा ।


राजमार्गमा 'होटल सोलु' भने पनि 'म्याकडोनल्ड्स्' भनेपनी त्यही 'ढावा' मात्र हुँदा रहेछन् । चिया, चावल, दाल, रोटी बाहेक अर्थोक पाउन मुस्किल । माटाको सानो भाडो (दियो जत्रै) मा पाइने एक रुप्पेको चिया एक घुट्की पनि आउँदैनथ्यो । मलाई रोटी मन पर्छ । हामीले यात्राभर खुब दाल र रोटी खायौं । गंगा किनारको पूर्व निर्धरित आश्रम पुग्दा साँझ परीसकेको थियो । सामान्य खानपिन पछी हामी सुत्यौ । आश्रममा खिचिएका केही फोटोहरु अहिले कता परे हेक्का छैन ।   
       
माघ १ गतेको दिन थियो । हामी सबेरै ३ बजे उठ्यौ र झण्डै ढेड घण्टा गंगा नदीको किनारै किनार हिड्दै सँगम, जहाँ प्रसिद्द तीन नदीहरु गंगा, यमुना र सरस्वती मिल्दथे, पुग्यौं । त्यतै छेउतिरै स्नान गरेको भएपनी हुन्थ्यो तर हामी सँगै गएका दाईले पानी पनि सफा भेटिने र भिड पनि कम हुने हुनाले नदीको बिचमा गएर स्नान गर्दा राम्रो हुने कुरा गरे । हामी डुंगा चढ्यौ र बिचमै गएर नुहायौ । 

फर्कदा छर्लङ्गै उज्यालो भैसकेकोले स्नान गर्न आउनेहरुको भिड थेगीनसक्नु भैसकेको थियो । प्रहरीहरु आए र भिड नियन्त्रणमा कडा हुँदै गए । हाम्रो डुंगालाई अघी चढेको किनारातर्फ फर्कन दिइएन । हामी आत्तियौं । डुंगाचालकले नजिकैका अन्य किनाराहरुमा उतार्न निकै प्रत्यन पनि गर्यो तर सकेन । अत्याधिक भिडका कारण प्रहरीहरु लाठीचार्जमै उत्रिएकाले उसले डुंगा पुन: नदी तर्फ नै ल्याइ अलिक लामो यात्रापछी अमिताभ बच्चनले बनाइदिएको बगैचा अगाडी ल्याइपुर्यायो । त्यहा भने भिड अली कम भएकोले डुंगाचालक हामीलाई उतार्न खोज्दै थियो तर युद्धभुमीमा सेनाका ट्याङ्करहरु अघी बढेझै थुप्रै डुंगाहरु त्यतै आइरहेकाले प्रहरीहरु पनि त्यतै आउँदै थिए । 

एकै छिनमा त्यो किनारा पनि भरियो । हामीले उत्रनको लागि अब पानीमै फाल हानेर वा अन्य डुंगाहरु क्रमश: फड्कदै तर्नु पर्ने भयो । हामी सँगै सानी भान्जी, ममी र दिदिहरु पनि भएकाले त्यो अली अप्ठ्यारो हुने थियो । तर डुंगाचालकले अन्य बिकल्प नभएको बताएपछी हामी उत्रने भयौ र म अगाडी लागें ।

आफु त मोरो बाँदरजस्तो है, फटाफट डुंगाहरु फड्कदै किनारा पुगीहालें । अरु भने आउन सकेनन् । त्यसैले डुंगाचालकले डुंगा सकभर किनारा नजिक ल्याउदै थियो, पुलिसहरुको बथानले किनारा कब्जा गरीहाले । कुनै डुंगा आउन दिएनन् । एउटा पुलिसलाई 'रिक्वेस्ट' गर्न म त्यसको अगाडी उभिएं । अहिले मलाई त्यसको झुसिल्किराझै जूङ्गामात्र याद छ । मैले गोर्खेहिन्दी ठोक्दै भनें, "तुम् क्या कर्ते हो? हमारे सबै उता हे । उनिहरुको आउन क्यु नही देते हो ? " पुलिस मोरो झोक्किन थाल्यो । त्यसले बोलेको मैले खुट्ट्याउनै सकिन । उ कुनै फिल्मको हिन्दी बोल्दै थिएन । उसले मलाई हुत्त्याएर बालुवामा लडाईं दियो । सायद त्यसले मेरो अरु शब्द नबुझेपनी 'तुम्' शब्द चाँही बुझेछ क्यार ।

यता मलाई पुलिसले हुत्त्याइदिएको देखेपछी उता भान्जी रुन पो थिलिछिन् । स्थिती अली नमज्जाको पो हुन पुग्यो । पुलिसले सबैजसो डुंगाहरु धपाएपछी किनारा अली पातलीदै गयो र पछी सबैजना सजिलै उत्रिए । हामी अमिताभ बच्चनले बनाएको बगैचा घुमेर मध्यान्हतिर आश्रम फर्कियौ । 

आजभोली पनि जसै घरमा हिन्दी फिल्म र भाषाको कुरा हुन्छ, मलाई सबैले भन्छन, " यसलाई 'तुम्' भनेको र 'आप' भनेको के हो अझै थाहा छैन । "