Pages

Thursday, April 19, 2012

म सानो छँदा ...


कुद कुहिरो कुद,
तेरो घरमा चोर पस्यो,
थोत्रो नाङ्लो ठटायो, 
बुढो भैंसी लडायो,
माना पिठो पोखायो, 
ढिकि जाँतो उखेल्यो 
कुद कुहिरो कुद । 

म सानो छँदा हामी आकाशमा कुदीरहेको कुर्हिरो हेर्दै यो गीत गाउदै कुद्थ्यौ । आज पनि म कुद्दै छु तर के हेरेर कुद्दै छु, के भेट्ने कुद्दै छु थाहा छैन ।


...

Cambodian children swimming in an ancient
 bathing pool. ( Source:  http://www.myspace.
com/rhiansheehan/photos/1743852#%7B%
22ImageId%22%3A1743852%7D)


मिनपचासको छुट्टीमा हाम्रो 'ग्र्यान्ड स्लाम पौडी' हुन्थ्यो । हामी माथिल्लो चौरदेखी लुगा खोल्दै कुद्द्थ्यौ र हरियो दहमा फदाल्थ्यौ । एकतालमै पानी धमिलो हुन्थ्यो । त्यसैले सफा पानीमा पौडिनको लागि हामीविच 'रेस' छुट्थ्यो । तिनै 'रेस'का पदकहरु अझै मेरा निधारमा प्रस्टै देखिन्छन । ऐना हेर्छु; टुटिल्को र खत देक्छु; एकछिन त्यही बाल्यकाल फर्कन्छु । झ्याम्म पानीमा फाल हानेको सम्झन्छु । म झसङ्ग हुन्छु ।

...

घरका पिल्लर ठड्याउन बनाइएका खल्डाहरुमा पानी जम्थे अनी हामी बाँसका लाठा लिएर हनुमान उडान गर्थ्यौ । बिस्तारै त्यसले खोला पनि तर्न सिक्यौ । तिनै लाठाले एक पटक जंगल (त्यसै छेउ अहिले अत्याधुनिक निउरो हस्पिटल बनेको छ) मा स्याल पनि मार्यौ । क्यम्पा ( पर्खालले चर्चेको घडेरीलाई हामी त्यसो भन्थ्यौ ) मा स्यालको मासु पकायौ । हल्ला चारैतिर फैलिएछ । स्यालको मासु लिन भनी महाराजगन्जदेखी आएका केही मानिस त्यसै फर्किए । हामीले अघिनै मासु बुत्त्याइेसकेका थियौ । मेरो दाजुको नाम पछी सम्म पनि 'स्याल मार्ने काइलो' रह्यो ।

...

सलाईको बट्टाका पत्ताका लागि हाम्रो जोड लडाईं हुन्थ्यो । बाँसबारी - महाराजगन्ज - बाँसबारी दैनिक दुई पटक उडान भर्थ्यौ । हाम्रो 'आरए'को पाङ्ग्रा कहिल्यै दिल्ली पुगेन । त्यही गूडाउथ्यौ । कुद्द्थ्यौ । 
Source:ekantipur.com

...

म लोक गीत मन पराउछु । मलाई राम्ररी याद छ, म सानो छँदा मामाले क्यसेट ल्याउनु भको थ्यो र तेसमा लोक गीत बज्थ्यो । हामी पिंडीमा क्यसेट छेउ झुम्मिन्थ्यौ र दिदीहरु आङगनमा नाच्थे । अझै त्यो क्यसेट मेरो घरको टेबलमा छ । जसै म लोक गीत सुन्छु त्यो क्यसेट मेरो आँखामा आउछ । अनी म त्यो पिंडीमै हुन्छु । म काठमाडौं जान्न । म सिड्नी पनि आउदिन । म त्यतै रुख चढेर स्याउला काट्छु, बनका पत्कर सोर्छु र गाई बाख्रालाई न्यानो डस्ना दिन्छु ।

गएको बर्ष म नेपाल जाँदा मैले त्यो क्यासेट पुछेर टल्काएको छु । मैले फेरी पत्कर सोरिन, स्याउला काटिन तर मैले त्यो क्यसेट पुछ्दा तिनै गाई बाख्राहरु रोए झै लाग्यो । अनी म गाउँ गए । तिनै गाई बाख्रा लाई पाखातिर चर्न दिएर हरियो दहतिर सोझिए । तिनीहरु पाखामा रमाउछन, म पोखरीमा रमाउछु । म लोक गीतमा रमाउछु । 

एकै छिन भित्र आउनुस् अनी यो भिडियो हेर्नुस् : 



६ बैशाख २०६९ 
निशेद गौतम, सिड्नी, अष्ट्रेलिया ।