Pages

Friday, July 20, 2012

गूड्बाइ दीपकराम


असार २६ गते राती मित्र बिनोद श्रेष्ठले एउटा फोटो 'ट्याग' गरे जसमा हाम्रा स्कुले साथी दीपकराम खड्काको असार १४ मा भएको असामयिक निधनप्रती श्रद्दान्जली र परिवारजनमा समबेदना लेखिएको थियो । म स्तब्ध भएँ । आफु काममा भएकोले तत्काल कुनै संपर्क गर्न सकिन । त्यसको केही दिन पछी उसको मृत्‍युको कारण बारे थाहा पाएँ । आफ्नो साथी गुमाउनु परेको यो नै मेरो पहिलो घटना थियो ।


Image source:
https://www.facebook.com/deepakram.khadka
हुन त अहिलेको समयमा अक्सर सकल साथीहरुका विवाह, सन्तानलाभ, बिदेश यात्रा, पदोन्नती, दिक्षान्त, एवं प्रगतीजस्ता गतिबिधी सुनिन्छन, तर फरक र दु:खद् यो घटनाले मलाई जीवनको एउटा तितो यथार्थ पाटोको पनि बोध गरायो । पटक पटक मृत्‍युको मुखबाट जोगिएको म स्वमं पनि बाँचेपछि फेरी गहीरिएर मृत्‍युको बिषयमा सोच्ने साहस कहिले भएन । यसर्थ, मित्र दीपकरामको मृत्‍युको घटना मेरा लागि जीबन चियाउने एउटा ऐना बन्न पुगेको छ । गूड्बाइ दीपकराम , हामी सदैब सम्झिरहने छौं । 

झन्डै १५ बर्ष अघी हामी सँगै कक्ष। सातमा पढ्थ्यौ । स्कुलको हाल्फछुट्टीमा हामी चौरमा भेटिन्थ्यौ । अर्का मित्र खुमलाल आले, दीपकराम र म प्राय: सँगै हुन्थ्यौं । पढाईका अलावा हामीमा पछी के बन्ने भन्ने बिषयमा हाम्रो एकमत थियो - आर्मी बन्ने । हामी मध्य खुमलाल अहिले नेपाली सेनामा छ । सुडोल छ फिटे शरीर, ५-७ जनालाई एक्लैले भ्याउने ज्यान र अत्यन्तै कोमल हृदय भएको दीपकरामको यस किसिमको अन्त्य सायदै कसैले सहला ।

दीपकरामले मिठो गीत पनि गाउथ्यो । मेरो दाई आँफैले लेखेको भन्दै हामीलाई प्राय: यो गीत लय हालेर पुरै गाएर सुनाउथ्यो -" मायालुले, हो हो हो ,मायालुले के गर्‍यो यस्तो, जिउदै मर्नु पार्दियो कस्तो, दुई दिन जीवनमा " । गीतको लय चाँही ठ्याक्कै  पुरानो हिन्दी गीत "पायलीया, हो हो हो " को थियो । उसले गाउँने यो पुरानो गीत मलाई अझै पुरै कण्ठस्थ छ ।

स्कुल सकिएपछी हामी तिनै जनाको भेट एकाध पटक भयो होला । समय पनि धेरै बितिसक्यो । यो क्रममा साथीहरु धेरै बने, धेरै छुटे पनि । तर थोरै कम साथीले मात्र जीवनमा अमिट छाप छोड्छन । गूड्बाइ दीपकराम, हामी सदैब सम्झिरहने छौं ।