Pages

Thursday, May 03, 2012

म, तुम् र पुलीस


Hindu devotees gather to bathe in the River Ganges, holy to 
Hindus, during the Kumbh Mela festival in Haridwar on
 Sunday. Photo: PTI
सबेरै वाराणसी (बनारस) बाट निस्कदा सडकको छेउछाउमा शौच गर्नेहरुको लामै लर्को देखिन्थ्यो । पूर्ण प्राकृत शौच मलाई पनि कम आनन्दको लाग्दैन । द्रिश्यमा अरु पनि धेरै थिए । समथर फाँटहरुमा केराका बुट्ट्यानहरु, आँपमा झाडीहरु, तोरीका बालीहरु र दालका खेती आँखाले नभ्याइन्जेल थिए । काठमाडौं छोडेको केही दिनहरुमै मलाई हरिया पहाडहरु 'मिस' भैरहेका थिए । जाँदा दाउन्ने कटेपछी र फर्कदा उही दाउन्ने नभेटिन्जेल मैले पहाडको त के कुरा र उकालो बाटो समेत कतै देखिन । 

कुरा सन् २००७ तिरको हो । हामी कुम्भमेला हेर्न भनी भारतको उत्तर प्रदेशको अलाहबादस्थित प्रयागनगर जादै थियौ । हामी गोरखपुरदेखी चढेको सेतो 'महेन्द्र बूलेरो'को अगाडी साइकल चित्रित झण्डा थियो । त्यसको अर्थ त्यही ड्राइभर जानोस तर भन्दै थियो," आपलोग निस्चिन्त रहो, आगेका झण्डा आपलोगका यात्रा आसान करेगा ।


राजमार्गमा 'होटल सोलु' भने पनि 'म्याकडोनल्ड्स्' भनेपनी त्यही 'ढावा' मात्र हुँदा रहेछन् । चिया, चावल, दाल, रोटी बाहेक अर्थोक पाउन मुस्किल । माटाको सानो भाडो (दियो जत्रै) मा पाइने एक रुप्पेको चिया एक घुट्की पनि आउँदैनथ्यो । मलाई रोटी मन पर्छ । हामीले यात्राभर खुब दाल र रोटी खायौं । गंगा किनारको पूर्व निर्धरित आश्रम पुग्दा साँझ परीसकेको थियो । सामान्य खानपिन पछी हामी सुत्यौ । आश्रममा खिचिएका केही फोटोहरु अहिले कता परे हेक्का छैन ।   
       
माघ १ गतेको दिन थियो । हामी सबेरै ३ बजे उठ्यौ र झण्डै ढेड घण्टा गंगा नदीको किनारै किनार हिड्दै सँगम, जहाँ प्रसिद्द तीन नदीहरु गंगा, यमुना र सरस्वती मिल्दथे, पुग्यौं । त्यतै छेउतिरै स्नान गरेको भएपनी हुन्थ्यो तर हामी सँगै गएका दाईले पानी पनि सफा भेटिने र भिड पनि कम हुने हुनाले नदीको बिचमा गएर स्नान गर्दा राम्रो हुने कुरा गरे । हामी डुंगा चढ्यौ र बिचमै गएर नुहायौ । 

फर्कदा छर्लङ्गै उज्यालो भैसकेकोले स्नान गर्न आउनेहरुको भिड थेगीनसक्नु भैसकेको थियो । प्रहरीहरु आए र भिड नियन्त्रणमा कडा हुँदै गए । हाम्रो डुंगालाई अघी चढेको किनारातर्फ फर्कन दिइएन । हामी आत्तियौं । डुंगाचालकले नजिकैका अन्य किनाराहरुमा उतार्न निकै प्रत्यन पनि गर्यो तर सकेन । अत्याधिक भिडका कारण प्रहरीहरु लाठीचार्जमै उत्रिएकाले उसले डुंगा पुन: नदी तर्फ नै ल्याइ अलिक लामो यात्रापछी अमिताभ बच्चनले बनाइदिएको बगैचा अगाडी ल्याइपुर्यायो । त्यहा भने भिड अली कम भएकोले डुंगाचालक हामीलाई उतार्न खोज्दै थियो तर युद्धभुमीमा सेनाका ट्याङ्करहरु अघी बढेझै थुप्रै डुंगाहरु त्यतै आइरहेकाले प्रहरीहरु पनि त्यतै आउँदै थिए । 

एकै छिनमा त्यो किनारा पनि भरियो । हामीले उत्रनको लागि अब पानीमै फाल हानेर वा अन्य डुंगाहरु क्रमश: फड्कदै तर्नु पर्ने भयो । हामी सँगै सानी भान्जी, ममी र दिदिहरु पनि भएकाले त्यो अली अप्ठ्यारो हुने थियो । तर डुंगाचालकले अन्य बिकल्प नभएको बताएपछी हामी उत्रने भयौ र म अगाडी लागें ।

आफु त मोरो बाँदरजस्तो है, फटाफट डुंगाहरु फड्कदै किनारा पुगीहालें । अरु भने आउन सकेनन् । त्यसैले डुंगाचालकले डुंगा सकभर किनारा नजिक ल्याउदै थियो, पुलिसहरुको बथानले किनारा कब्जा गरीहाले । कुनै डुंगा आउन दिएनन् । एउटा पुलिसलाई 'रिक्वेस्ट' गर्न म त्यसको अगाडी उभिएं । अहिले मलाई त्यसको झुसिल्किराझै जूङ्गामात्र याद छ । मैले गोर्खेहिन्दी ठोक्दै भनें, "तुम् क्या कर्ते हो? हमारे सबै उता हे । उनिहरुको आउन क्यु नही देते हो ? " पुलिस मोरो झोक्किन थाल्यो । त्यसले बोलेको मैले खुट्ट्याउनै सकिन । उ कुनै फिल्मको हिन्दी बोल्दै थिएन । उसले मलाई हुत्त्याएर बालुवामा लडाईं दियो । सायद त्यसले मेरो अरु शब्द नबुझेपनी 'तुम्' शब्द चाँही बुझेछ क्यार ।

यता मलाई पुलिसले हुत्त्याइदिएको देखेपछी उता भान्जी रुन पो थिलिछिन् । स्थिती अली नमज्जाको पो हुन पुग्यो । पुलिसले सबैजसो डुंगाहरु धपाएपछी किनारा अली पातलीदै गयो र पछी सबैजना सजिलै उत्रिए । हामी अमिताभ बच्चनले बनाएको बगैचा घुमेर मध्यान्हतिर आश्रम फर्कियौ । 

आजभोली पनि जसै घरमा हिन्दी फिल्म र भाषाको कुरा हुन्छ, मलाई सबैले भन्छन, " यसलाई 'तुम्' भनेको र 'आप' भनेको के हो अझै थाहा छैन । "