असार २६ गते राती मित्र बिनोद श्रेष्ठले एउटा फोटो 'ट्याग' गरे जसमा हाम्रा स्कुले साथी दीपकराम खड्काको असार १४ मा भएको असामयिक निधनप्रती श्रद्दान्जली र परिवारजनमा समबेदना लेखिएको थियो । म स्तब्ध भएँ । आफु काममा भएकोले तत्काल कुनै संपर्क गर्न सकिन । त्यसको केही दिन पछी उसको मृत्युको कारण बारे थाहा पाएँ । आफ्नो साथी गुमाउनु परेको यो नै मेरो पहिलो घटना थियो ।
Image source: https://www.facebook.com/deepakram.khadka |
झन्डै १५ बर्ष अघी हामी सँगै कक्ष। सातमा पढ्थ्यौ । स्कुलको हाल्फछुट्टीमा हामी चौरमा भेटिन्थ्यौ । अर्का मित्र खुमलाल आले, दीपकराम र म प्राय: सँगै हुन्थ्यौं । पढाईका अलावा हामीमा पछी के बन्ने भन्ने बिषयमा हाम्रो एकमत थियो - आर्मी बन्ने । हामी मध्य खुमलाल अहिले नेपाली सेनामा छ । सुडोल छ फिटे शरीर, ५-७ जनालाई एक्लैले भ्याउने ज्यान र अत्यन्तै कोमल हृदय भएको दीपकरामको यस किसिमको अन्त्य सायदै कसैले सहला ।
दीपकरामले मिठो गीत पनि गाउथ्यो । मेरो दाई आँफैले लेखेको भन्दै हामीलाई प्राय: यो गीत लय हालेर पुरै गाएर सुनाउथ्यो -" मायालुले, हो हो हो ,मायालुले के गर्यो यस्तो, जिउदै मर्नु पार्दियो कस्तो, दुई दिन जीवनमा " । गीतको लय चाँही ठ्याक्कै पुरानो हिन्दी गीत "पायलीया, हो हो हो " को थियो । उसले गाउँने यो पुरानो गीत मलाई अझै पुरै कण्ठस्थ छ ।
स्कुल सकिएपछी हामी तिनै जनाको भेट एकाध पटक भयो होला । समय पनि धेरै बितिसक्यो । यो क्रममा साथीहरु धेरै बने, धेरै छुटे पनि । तर थोरै कम साथीले मात्र जीवनमा अमिट छाप छोड्छन । गूड्बाइ दीपकराम, हामी सदैब सम्झिरहने छौं ।